अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की, ‘वाई प्लस’ श्रेणीको सुरक्षा


 


काठमाडौं, असोज २२ । बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ ।

शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले उनलाई ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ ।

यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ । यो श्रेणीको सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा अधिकारी र ५ हतियारसहितका पुलिस शाहरुखसँग २४ घण्टा रहनेछन् । यसअघि शाहरुखको सुरक्षाका लागि मुम्बई पुलिसका दुईजना कन्स्टेबल थिए ।

यी प्रहरी कमाण्डोसँग एमपी–फाइभ मेसिन गन, एके–४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् । प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ ।

सुरक्षा कभरको खर्च शाहरुख खान आफैले बेहोर्नेछन् । प्रहरीले भारतमा निजी सुरक्षाकर्मीलाई आधुनिक हतियार लैजान नदिने बताएको छ । तर, प्रहरीले सुरक्षा जोखिम नरहेसम्म यस्तो सुविधा दिइरहने उल्लेख गरेको छ ।

यसअघि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा प्रदान गरिएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा कभर पाएका छन् । जसमा तीन पीएसओएस छन् ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्