गायिका सज्जा चौलागाईंले चढिन् जुगल हिमाल


 


काठमाडौं, कार्तिक १४ । गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् ।

‘कलामा महिला सहभागिता’को सन्देश दिंदै उनी गत मंगलबार विजयादशमीकै दिनमा चुचुरोमा पुगेकी हुन् ।

चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् ।

हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छिन् ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु । महिला भएको नाताले मैले सधैं अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरें । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’

सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । उनी गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत हुन् ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्