कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’


 


विराटनगर । कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को परिच्छेद ९ को प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धमा व्यवस्था अन्तरगत नियम ४० र ४१ बमोजिम प्रदेश सभामा सदस्यहरूको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेको प्रदेश सभामा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

नियम ४० अनुसार प्रदेश सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा सांसदहरूले निर्धारित समयमा प्रश्न सोध्न सक्ने व्यवस्था गरिएको छ । सोही अनुसार प्रदेश सभा सदस्यहरूले प्रश्न सोध्ने र मुख्यमन्त्री कार्कीले जवाफ दिने कार्यसूची राखिएको जनाइएको छ ।

नियमावलीको सोही व्यवस्था अनुसार सांसदहरूले प्रश्न सोध्ने र नियम ४१ बमोजिमको व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश सभामा जवाफ दिने जनाइएको छ । सांसदहरूले प्रश्नहरू लिखित रुपमा प्रदेश सभाका सचिव मार्फत सरकारलाई पेश गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीको व्यवस्थाको पहिलो अभ्यास भएकोले प्रदेश सांसदहरूले मौखिक रुपमा जवाफ दिने किसिमका प्रश्नहरू मात्रै सोध्ने तयारी गरेका छन् ।

नियमावलीमा प्रश्नहरू मौखिक उत्तर दिने र लिखित उत्तर दिने गरी दुई किसिमका उत्तर हुने उल्लेख छ । प्रश्नकर्ताले कुनै अभिलेख, तथ्याङ्क आदि उल्लेख गरी जवाफ मागेमा लिखित रुपमा उत्तर दिनुपर्ने जनाइएको छ ।

बिहीबार मुख्यमन्त्री कार्की समक्ष आठजना प्रदेश सभा सदस्यहरूले प्रश्नको सूचना दर्ता गरेको प्रदेश सभाका सचिव पराजुलीले बताए । उनले नियमावली बमोजिम मूल प्रश्नसँग जोडिएको जवाफमा प्रश्न राख्ने सम्बन्धी प्रदेश सभा सदस्यले कुनै एक विषयमा पूरक प्रश्नसमेत सोध्न सक्ने जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा सरकार र आफ्नो विषयमा गरिने कुनैपनि आलोचना स्वीकार गर्ने बताउँदै आएका छन् । उनले आफू सुशासन सहितको समृद्धि अभियानमा लाग्ने प्रण गरेको कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने क्रममा समेत बोलेका थिए ।

‘सरकारप्रति गरिने कुनैपनि आलोचनामा, मुख्यमन्त्रीलाई गरिने कुनैपनि आलोचनाप्रति रिस राखिने छैन, सांसदहरूले स्वतन्त्रतापूर्वक कुरा राख्नु हुनेछ’ मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘सांसदले जति निगरानी गर्यो त्यति सरकार सबल हुने मेरो विश्वास छ, माननीयहरूलाई अधिकतम अधिकार प्रयोग गर्न आग्रह गर्दछु ।’

उनले आफू संसद्प्रति जिम्मेवार बन्ने बताउँदै नियमावलीमा भएको व्यवस्था पहिलो पटक कार्यन्वयन गर्दै प्रदेश सभा सदस्यहरूको प्रश्नका सामना गर्न तयार रहेको बताएका छन् । त्यसका लागि प्रदेश सभाको बैठक बिहीबार दिनको ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्