भारत अष्ट्रेलियासँग ५ विकेटले पराजित


 


काठमाडौं । अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ।

जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित १ सय ४ रनमा अविजित रहे। यो उनको टी–२० आई करिअरको चौथो शतक हो। ग्लेन म्याक्सवेलले टी–२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन्।

उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन्। म्याक्सवेलको चार मध्ये तीन शतक भारतविरुद्ध छ।

कप्तान म्याथ्यु वेड १६ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे। छैटौं विकेटका लागि म्याक्सवेल र वेडले ४० बलमा ९१ रनको साझेदारी गर्दै जित पक्का गराए।

अष्ट्रेलिया ओपनर ट्रविस हेड ३५ रनमा आउट भए। आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए।

भारतका रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक विकेट लिए।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले। उनको यो अन्तर्रास्ट्रिय करिअरको पहिलो शतक हो।

तिलक बर्मा ३१ रनमा अविजित रहे। चौथो विकेटका लागि ऋतुराज र तिलकले ५९ बलमा १ सय ४१ रनको अविजित साझेदारी गरेका थिए। भारतले ओपनर यशस्वी जैसवाललाई ६ र इशान किशनलाई शुन्यमा गुमाएको थियो। कप्तान सुर्य कुमार यादव ३९ रनमा आउट भए।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले १–१ विकेट लिए। भारत पहिलो खेलमा ५५ रन र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो। चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्