टी-२० विश्वकपमा युगान्डा छनोट, जिम्बाबे र केन्या बाहिरिए


 


काठमाडौँ, मंसिर १४ । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।

युगान्डा अफ्रिकी महादेशबाट आगामी टी-२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको हो ।

यसअघि अफ्रिकी महादेशबाट नामिबिया आगामी विश्वकपमा छनोट भइसकेको छ । युगान्डा आगामी टी-२० विश्वकपमा छनोट हुने २०औँ तथा अन्तिम राष्ट्र पनि हो ।

नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई नौ विकेटको फराकिलो अन्तरले हरायो ।

उक्त जितसँगै युगान्डा विश्वकपमा छानिएको हो । युगान्डाको जितसँगै दुई बलिया टोली जिम्बाबे र केन्या भने विश्वकपमा छनोट हुन असफल भए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको रुवान्डाले १८-५ ओभरमा अलआउट हुनुअघि ६५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको युगान्डाले भने ८.१ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । यसपटक टी(२० विश्वकपमा २० वटा राष्ट्रको सहभागिता रहनेछ ।

अमेरिका र वेस्ट इन्डिज आयोजकको रुपमा विश्वकपमा सहभागी हुनेछन् । अघिल्लो टी(२० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वतः सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुरुप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् ।

यसैगरी आईसीसी टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् ।

पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ ।

एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्