यू–१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य


 


काठमाडौं, मंसिर २२ । एसिसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको मध्यम लक्ष्य दिएको छ ।

युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपालले ४७।२ ओभरमा सबै विकेट गुमाएर १५२ रन बनायो ।

नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । यू१९ अन्तर्राष्ट्रिय क्रिकेटमा उत्तमको यो दोस्रो अर्धशतक हो ।

उनले यसअघि दुई महिना अघि एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध पनि अर्धशतक हानेका थिए ।

एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए ।

अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।

अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए ।

गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो । विशाल विक्रम केसी ९ बलमा १ रन बनाउँदै क्याच आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ९।२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । उबेद शाह र अली असफन्दले समान १ विकेट लिए ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्