नेदरल्यान्ड्सले नेपाललाई दियो सामान्य लक्ष्य


 


काठमाडौं, फागुन ५ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र जोड्न सक्यो । टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।

छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।

त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा पुग्यो ।

२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९-६ को अवस्थामा पुग्यो ।

लगत्तै अर्को ओभरमा रोहित पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए ।

ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो । नेदरल्यान्ड्सका दुई ब्याटर रनआउट भएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्