इरानद्वारा इजरायलमा मिसाइल प्रहार, आक्रमण एक हप्ता चल्ने इरानी सेनाको दाबी
काठमाडौँ। इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ।
इजरायली सेनाले पनि यस आक्रमणको प्रतिक्रियास्वरूप जुनसुकै बेला जवाफ दिने चेतावनी दिएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले यो आक्रमणलाई एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात भएको उल्लेख गरेको छ।
इरायली रक्षा बलका अनुसार इरानले प्रहार गरेका अधिकांश मिसाइलहरूलाई आकाशमै सफलतापूर्वक नष्ट गरिएको छ। आक्रमणपछि सुरक्षित आश्रयस्थलमा जान भनिएका इजरायली नागरिकहरूलाई अहिले बाहिर निस्कन अनुमति दिइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयमता अपनाउन र प्रतिशोध नलिन आग्रह गरेका छन्।
ट्रम्पले इरान र इजरायल दुवैले एकअर्कामाथि प्रहार गरिसकेको भन्दै अब थप तनाव नबढाउन दबाब दिएका छन्। फक्स न्युजका अनुसार ट्रम्पले इरानलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरूले मिसाइल प्रहार गरिसक्नुभयो, अब यतिमै रोकिनुस् र वार्ताको टेबुलमा फर्कनुस्।’ ट्रम्पले आफू इरानसँगको एउटा ऐतिहासिक सम्झौताको नजिक रहेको र यो युद्धका कारण उक्त सम्झौता नबिग्रियोस् भन्ने चाहेको बताएका छन्।
यो तनावको मुख्य कारण आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतस्थित हिजबुल्लाहका सैन्य अखडाहरूमा गरेको हवाई आक्रमण हो। उक्त आक्रमणपछि इरानले बदला लिने चेतावनी दिएको थियो। इरानको विदेश मन्त्रालयले इजरायलको ‘आक्रामकता’ विरुद्ध आफ्नो राष्ट्रिय हितको रक्षा गर्न यो कदम चालेको स्पष्ट पारेको छ।
इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले भने इरानको यो कदमपछि उसलाई घाटा हुने भन्दै कडा प्रतिक्रिया दिएका छन्।
इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामीरले पनि आदेश पाउनेबित्तिकै इरानमाथि प्रहार गर्न सेना तयार रहेको बताएका छन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाले जेरुसेलमस्थित आफ्नो दूतावास सोमबारका लागि बन्द गरेको छ। त्यस्तै, इजरायलले गाजा क्षेत्रका रफाह र केरेम शालोम लगायतका सबै नाकाहरू पुनः बन्द गरिदिएको छ।
अन्तर्राष्ट्रिय समुदायले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बेलायती विदेश सचिव यभेट कुपरले दुवै पक्षलाई तत्काल तनाव कम गर्न र संयमता अपनाउन आग्रह गरेकी छन्। उनले यो द्वन्द्व कसैको हितमा नरहेको र क्षेत्रको स्थिरताका लागि वार्ता नै उत्तम विकल्प भएको बताएकी छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















