मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी


 


जनकपुरधाम, फागुन ६ । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन सक्दा एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

यसअघि गत माघ ९ गते जनमत पार्टीले मधेश सरकार छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै एमालेले सरकारलाई समर्थन कायमै राखेकाले आफूहरुलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन आग्रह गरेको थियो । एमालेले मुख्यमन्त्री यादवलाई दुई पटकसम्म विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षीको बेन्चमा बस्दै आएको छ ।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एकरएक र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्