मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने


 


काठमाडौं, पुस १३

अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सयरदुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुने बताईएको छ ।

मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । मोबाइलबाट फराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन् ।

सुवेदीका अनुसार उक्त बारकोडको स्क्रिन सट लिएर मोबाइलमा सेभ गर्ने र सेभ भएको बारकोडको फोटो लिएर विभागमा आउने व्यक्तिको फोटो र औँठा छाप लिने व्यवस्था मिलाएको छ ।

यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्