स्थानीय निर्वाचन गर्न तीन दल सहमत


 


काठमाडौं, पुस १३

प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएका छ ।  सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताए   । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको जानकारी दिए   ।

बैठकमा नेताले स्थानीय तहको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तयार गरिसकेकाले स्थानीय तहको नै निर्वाचन गर्नुपर्नेमा जोड दिए  । वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलका तर्फबाट संसद् खोल्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दलले अस्वीकार गरेको जानकारी दिए । बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एकतर्फी रुपमा संशोधनको प्रस्ताव ल्याएर निषेधको राजनीतिक गरेको आरोप लगाउँदै संशोधन प्रस्ताव मुलुक र जनताको हित विपरीत भएकाले मान्न नसकिने बताए  ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्