ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन


 


झापा, पुस १४

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् ।

दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र नेपाल प्रहरीका विष्णु कटुवालले कास्य पदकममा चित्त बुझाए ।

यस्तै महिला एकलतर्फ नङशलले सशस्त्र प्रहरीका शिक्षा श्रेष्ठलाई १७–२१, २१–१२ र २१–१० अङ्कले पराजित गर्दै स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाकै अनुमाया राई र अमिता गिरीले कास्य पदक जिते ।

पुरुष डबल्सतर्फ नेपाली सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले सेनाकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ अङ्कले पराजित गर्दै स्वर्ण पदक जिते । नेपाल प्रहरीका विष्णु कटुवाल र दीपक बोहराको जोडी तथा सशस्त्र प्रहरीका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले कास्य पदक जिते ।

महिला डब्ल्सतर्फ सशस्त्र प्रहरीका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले नेपाली सेनाका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५ र २१–८ को सोझे सेटमा हराउँदै स्वर्ण पदक जिते । यस्तै सेनाका जेसिका गुरुङ र सुनैना मुखिया तथा नङशल तामाङ र अमिता गिरीको जोडीले कास्य पदक जिते ।

मिक्स डबल्सतर्फ सेनाका दीदिभाइको जोडीले नै स्वर्ण पदक जिते । दिदी नङशल तामाङ र भाई रत्नजित तामाङको जोडीले सशस्त्र प्रहरीका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । सशस्त्र प्रहरीका शोभा गौचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडीले कास्यमा चित्त बुझाए ।

प्रकाशित मिति: १४ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्