विराटनगरमा महिला क्रिकेट प्रतियोगिता शुरु, मोरङ र इलामले जिते उद्घाटन खेल


 


विराटनगर , २२ फागुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को स्कोर खडा गरेको थियो । मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सम्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।

१ सय ५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । सप्तरीकी सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिए ।

दोस्रो खेलमा इलामले सिरहालाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४६ रनको स्कोर खडा गरेको थियो । इलामको लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् । सिरहाकी अर्चना महतो, अजमेरी खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिए ।

१ सय ४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४१ रनमा सिमित भयो । सिरहाका लागि मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुष्मिता मुखियाले २ विकेट लिँदा जानुका खवासले १ विकेट लिइन् ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फाल्गुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेका खेल सम्योजक विशाल साहले बताए ।

लिगको आधारमा खेलाई प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक साहले बताए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्