मैत्रीपूर्ण खेलमा हङकङसँग ७३ रनले नेपाल पराजित


 


काठमाडौं, २६ फागुन। हङकङसँगको मैत्रीपूर्ण टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ ।

हङकङमा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो ।

बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शून्य रनमै आउट भए ।

नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एकरएक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग शनिबार मैत्रीपूर्ण खेल खेलको हो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्