भोजपुरको छोरो राष्ट्रसंघको समितिमा निर्वाचित
भोजपुर, असार १
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका हुन् । निर्वाचित भएपछि भट्टराईले महासंघ अन्तर्गतको महत्वपूर्ण समितिको प्रमुखको रूपमा योगदान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।
महासभाका विभिन्न छ समितिमध्ये एक समितिको जिम्मेवारी भट्टराईले पाएका हुन्। समितिले महासंघको बजेट सम्बन्धी सबै काम गर्ने जनाएको छ।
उनी सन् २०१३ जुलाईमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि नियुक्त भएका थिए।
राष्ट्रपति डा रामवरण यादवले भोजपुरको सिद्धेश्वर गाविस–३ दावाँ निवासी दुर्गाप्रसाद भट्टराईलाई २०१३ जुलाई मा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिमा नियुक्त गरेका थिए।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भट्टराईलाई उक्त पदमा त्यतिबेला नियुक्त गरेका थिए ।
स्थायी प्रतिनिधि भट्टराई यसअघि परराष्ट्र सचिव थिए । परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्नुअघि श्रीलङ्काका लागि नेपाली राजदूत थिए ।