प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार



सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकको करिब सवा तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए ।

टावरमा पुगेपछि उनले आफ्ना साथीमार्फत आफू माथि रहेको जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सर्लाहीका प्रहरी प्रमुख, एसपी रविन्द्रनाथ पौडेलका अनुसार बिहान ५:३० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भई उद्धार अभियान शुरू गरेको थियो ।

मानसिक तनावमा रहेका हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ८:५० बजे सकुशल टावरबाट तल झरेका हुन् ।

उद्धारपछि उनलाई आवश्यक मनोचिकित्सकीय उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको एसपी पौडेलले जानकारी दिए ।

घटनाका कारण केही समय नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको भीड लागेको थियो । सुरक्षाकर्मीको संयमता, परिवारको सहयोग र निरन्तरको प्रयासपछि कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्