सरकारी गाडी जलाउने पहिचान भइसके : प्रहरी


 


काठमाडौं, पुस १७
बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार रहेका छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ ।

अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा.१ झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो। बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो।
‘आगो लगाउनेमध्ये धेरैको पहिचान भइसकेको छ, ‘महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले भने, ‘उनीहरू हाल फरार छन्, जसरी पनि पक्राउ गरी कारबाही गर्छौं ।’ आगो लगाइएको गाडी बागमती सभ्यता एकीकृत विकास समितिको हो ।

समितिले भने आफ्नो गाडीमा आगजनी भएको जाहेरी प्रहरीमा दिएको छैन । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान गरी दोषीलाई आगजनी मुद्दा चलाइने डिएसपी चिमोरियाले बताए । यस्तो मुद्दामा क्षतिअनुसार जरिवाना र कैद सजायको व्यवस्था छ ।

राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापा, युवा संघका नेता निरेशलाल सिंह, रोशन बस्नेत, प्रकाश गौतमलगायत व्यक्ति आगलागीका वेला घटनास्थलमा थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरूको पहिचान भएको प्रहरी स्रोतले बताएको छ । यद्यपि, घटनामा क–कसको सहभागिता थियो भन्ने विषयमा थप अनुसन्धानपछि प्रस्ट हुने प्रहरीको भनाइ छ ।

आगजनी गरिएकोप्रति सर्वसाधारण मात्र होइन, एमालेकै नेताहरूले पनि चर्को आलोचना गरेका छन् ।

एमाले र युवा संघलाई बदनाम गर्न सरकारको घुसपैठमा शुक्रबार गाडी जलाइएको हो ।  शनिबार बिदाको दिन संघको कार्यालयअघि श्रीमती र छोराछोरीलाई गाडी सिकाइँदै थियो । किन बिदाको दिन यसो गरियो भनेर सोध्ने क्रममा सिकाउने व्यक्तिले नै प्रतिवाद गर्दा हाम्रा साथीहरूले आक्रोशमा एक–दुई गाडी तोडफोड मात्रै गरेका हुन्, जलाइएको होइन, युवा संघ प्रवक्ता प्रभातविक्रम कटुवालले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १७ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्