पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण


 


भक्तपुर, चैत १५ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । उहाँका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने जानकारी दिनुभयो । 

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

परीक्षा हलभित्र पर्यवेक्षण गर्न र तस्बिर लिन रोक

आजदेखि सुरु भएको यस वर्षको एसइई परीक्षाको हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ ।

परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्ने र तस्बिर खिच्ने गरिएकाले उक्त कार्य गर्न नपाउने निर्णय गरेपछि पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिनुभयो ।

समितिकोे बैठकले गरेको निर्णयानुसार आजदेखि सुरु भई १७ गते सम्पन्न हुने एसइई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निर्णय गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ । भक्तपुरका २४ परीक्षा केन्द्रमा छ हजार बढी विद्यार्थी सहभागी छन् ।

प्रकाशित मिति: १५ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्