शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई


 



सिन्धुपाल्चोक, १९ जेठ । पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ ।

थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधि जितेको हो । जुगलले उपाधिसँगै नगद रु ५० हजार र उपविजेता मेलम्चीले रु ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझो सेटमा पराजित गरेका हुन् । तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद रु २० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्लाका आठ पालिकाका नौ टिम सहभागी रहेका पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमराज वली र उत्कृष्ट खेलाडी पाँचपोखरीका ढकबहादुर खड्का घोषित हुनुभयो ।

हिजोदेखि सुरू भएको प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका–२ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा सागाँचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागिता रहेको थियो । विजेतालाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभयो । शिक्षकको पेसासँगै सिर्जनात्मक कार्यमा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्