विश्वकप क्रिकेटः अमेरिकाको विजयी सुरुवात


 



काठमाडौँ, २० जेठ । आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ‘नटआउट’ हुँदै (अविजित) ९४ रन बनाएका हुन् । एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोडे । कप्तान मोनांक पटेलले १६ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रन बनाएका हुन् ।

क्यानडाका लागि निकोलस किर्टोनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोभ्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मद्दतमा २३ रन बनाए भने दिलप्रित बजवाले ११ रन बनाए । परगत सिंह पाँच रनमा आउट भएका हुन् ।

अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक/एक विकेट लिए । उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’ मा रहेको छ । अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।

अमेरिकाले आफनो दोस्रो खेल यही जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्