राष्ट्रिय फुटबल खेलाडी प्रिती सम्मानित


 



सुनसरी, जेठ २६ । धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गर्नुभएको थियो ।

खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । उहाँ नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।

उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्