१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल


 


सुर्खेत, २८ जेठ । युवा तथा खेलकुद विकासमन्त्री विराजभक्त श्रेष्ठ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा छलफल भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशमा पूर्वाधारको अवस्था, स्रोत र आयोजना व्यवस्थापनबारे छलफल भएको हो ।

मुख्यमन्त्री कँडेलले प्रतियोगिता सम्बन्धमा सम्पादन गर्नुपर्ने नीतिगत व्यवस्था र पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले निर्वाह गर्ने दायित्वका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो। प्रतियोगिता सञ्चालन सम्बन्धमा समन्वय समिति, खेलस्थल व्यवस्थापन समिति बनाउने विषयमा पनि कँडेलले मन्त्री श्रेष्ठसँग जिज्ञासा राख्नुभएको थियो । साथै कर्णाली प्रदेशले पठाएको प्रतियोगिताको लोगो तय गर्न आग्रह गर्दै मुख्यमन्त्री कँडेलले प्रतियोगिता व्यवस्थापनका समग्र पक्षबारे छिटो टुङ्गोमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

खेलकुद मन्त्री श्रेष्ठले आयोजनाको सम्पूर्ण व्यवस्थापन प्रदेशले नै गरोस् भन्ने आफ्नो धारणा रहेको बताउनुभएको थियो । उहाँले यस विषयमा चाडै निष्कर्षमा पुग्न आफ्नो तर्फबाट पहल गर्नेसमेत बताउनुभयो ।

छलफलमा सामाजिक विकास मन्त्री वीरबहादुर शाही, राखेप सदस्य सचिव, मन्त्रालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुखलगायत सरोकार भएकाहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्