फिफा विश्वकप छनोट: सुखद अन्त्यको खोजीमा नेपाल


 


काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली यमनविरुद्ध सुखद नतिजा निकाल्दै फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटको अन्त्य गर्ने आशामा छ।

छनोटको अन्तिम खेलमा आज (मंगलबार) राति नेपाल र यमन भिड्दैछन्। यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने दोस्रो लेग राति पौने १० बजे हुनेछ। छनोटको अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ।

विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन। पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपाली टोली आजको खेलमा सुखद नतिजाको आशामा छ।

नेपालले यूएई र यमनविरुद्धको दोस्रो लेग घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले तथष्ट भुमिका रुपमा साउदीमा खेल्नुपरेको हो।

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समुह चरणका पाँचै खेलमा हार भोगेको छ। नेपालले यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो।

बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। समूह ‘एच’ मा रहेको नेपाल सबै खेलमा हार भोग्दै अंक तालिकाको पुछारमा छ।

समान खेलबाट अपराजित रहेको यूएई १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ। बहराइन १० अंकमा दोस्रो र यमन ४ अंकमा तेस्रो स्थानमा छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्