ट्रम्पले कसरी चलाउलान् देश ? के राज्य चलाउनु भनेको कम्पनी चलाएजस्तै हो ?



द न्युयाेर्क टाइम्स, माघ ८

राष्ट्रपतिमा निर्वाचित भएपछि नै डोनाल्ड ट्रम्पले भनेका थिए, ‘जसरी व्यापारिक संस्था चलाइन्छ, त्यसैगरी सरकार पनि चलाउन सकिन्छ।’

हिलारी क्लिन्टनसँगको अन्तिम राष्ट्रपतीय बहस क्रममा पनि ट्रम्पले यही घोषणा गरे। उनको भनाइ थियो, ‘म जसरी आफ्नो कम्पनी चलाउँछु, त्यसैगरी राज्य चलाउन पाएँ भने अमेरिकालाई हामी सबैको निम्ति गर्व गर्न लायक देश बनाइदिनेछु।’

के राज्य चलाउनु भनेको कम्पनी चलाएजस्तै हो त?   ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा सपथ लिइसकेका छन्। अब बन्ने सरकारमा ट्रम्पसहित तीन अर्बपति, पाँच पूर्व सिइओ र व्यापारिक क्षेत्रमा चम्केका केही व्यक्ति सरकारको महत्वपूर्ण ओहोदामा पुग्नेछन्।

विभिन्न कम्पनीमा रहेर व्यावसायिक सफलता हासिल गरेका ती व्यक्तिलाई लिएर के ट्रम्पले कम्पनी चलाएजस्तै देश चलाउन सक्लान्?   ट्रम्पले भनेजस्तै सुशासन र व्यापारिक चातुर्यको कला समान हुन् वा फरक हुन् भन्नेबारे अब भोलिदेखि नै परीक्षण सुरु हुनेछ।

विगतमा संघीय सरकारका विभिन्न तहमा रहेर राज्य सञ्चालनको अनुभव हासिल गरिसकेका अधिकारीहरू भने ‘ट्रम्पले भनेजस्तो देश चल्न नसक्ने’ बताउँछन्।

‘कुनै सरकारी निकाय चलाउनु र व्यापारिक कम्पनी चलाउनु फरक कुरा हुन्,’ केलोग कम्पनीका पूर्व प्रमुख कार्यकारी कार्लोस गुटिएरेज भन्छन्, ‘व्यापारका केही कला सरकार चलाउन पनि काम लाग्छन्, तर कुन कला काम लाग्दैनन् भन्ने तपाईंले सावधानीपूर्वक पत्ता लगाउनुपर्छ।

आफ्नो कम्पनीमा कुनै कर्मचारीको काम मन नपर्नेबित्तिकै जागिरबाट निकाल्न सकिन्छ, तर राज्यमा यसरी कसैलाई पनि बर्खास्त गर्न सकिन्न।’   पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका पालामा वाणिज्य मन्त्रीसमेत रहेका गुटिएरेज थप्छन्, ‘अमेरिकी कंग्रेसका ५३५ जना मानिस तपाईंका बोर्ड अफ डाइरेक्टर हुन्, त्यसमध्ये आधाले तपाईं असफल भएको देख्न चाहन्छन्।

यो तपाईंको कम्पनी सञ्चालनभन्दा बिल्कुलै भिन्न परिस्थिति हो।’   यस क्रममा नराम्रो काम गर्नेलाई बर्खास्त गर्नु र राम्रो काम गर्नेलाई पुरस्कृत गर्नु नै पहिलो चुनौती हुन्छ।

किनकि, पुँजीवादका तरिकाले सरकार सञ्चालनमा काम दिंदैन। त्यसलाई अमेरिकाको संघीय कानुनले नै रोक्छ।   अर्को समस्या भनेको, राज्य र कम्पनीको उद्देश्य नै फरक हुन्छ। अत्यधिक लाभ कमाउनु व्यापारिक कम्पनीको उद्देश्य हो।

उसको मुनाफामै उसको सफलता निहीत हुन्छ। सरकारको काम भने त्यसको ठिक विपरित हुन्छ। सरकारले थोरै मानिसलाई बेखुस राखेर भए पनि धेरैभन्दा धेरै मानिसलाई सन्तुष्टि दिनुपर्छ।   तेस्रो, प्रतिस्पर्धा व्यापारिक क्षेत्रभित्र राम्रो मानिन्छ, जबकि सरकारभित्र त्यस्तो प्रतिस्पर्धाले प्रायः बर्बादी निम्त्याउँछ। विगतको अनुभवले यस्तै देखाउँछ।

  ‘राज्य सञ्चालन गर्दा तपाईं सहकार्यमार्फत सफलता हासिल गर्न सक्नुहुन्छ,’ गोल्डम्यान स्याक्सका पूर्व प्रमुख कार्यकारी हेनरी पाउलसन भन्छन्, ‘तपाईंले आफ्नो मात्र लक्ष्य पूरा गर्ने कुरा सरकारमा हुँदैन।’

पाउलसनले राष्ट्रपति बुसको पालामा नै अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनका अनुसार व्यापारीहरूले प्रतिस्पर्धालाई समस्या समाधानको राम्रो उपाय ठान्छन्।

राज्य सञ्चालनमा यही कुरा लागू हुँदैन। आप्रवास, कर प्रणाली सुधारजस्ता जटिल समस्यामा दर्जनौं सरकारी निकाय, संसद र दबाब समूहहरूको सहभागिता हुन्छ।

आफूलाई कुनै कुरा चित्त बुझे पनि तिनलाई सहमतिमा नलिई अघि बढ्न सकिँदैन। कुनै एउटा निकाय वा नेतृत्व गर्नेको ज्ञान र बुद्धिले मात्र कुनै प्रक्रियामा अघि बढ्ने कुरा राज्य सञ्चालनमा असम्भव हुन्छ। यहाँ सबै काम सामूहिक छलफल र निर्णयका आधारमा हुन्छ।

कम्पनीमा भने जसले जे भने पनि प्रमुख कार्यकारीले आफूलाई लागेको काम गर्न कुनै अवरोध हुँदैन।   ‘तपाईंले दुवै पक्षलाई खुसी पार्न सक्नुपर्छ। अरू अधिकारीभन्दा बढी चलाख देखिनु हुँदैन।

सिस्टमभित्र तपाईंको आदेश मान्नु नपर्ने मानिस पनि हुन्छन्, जसलाई तपाईंले मनाउनुपर्छ,’ पाउलसन भन्छन्।   ट्रम्पले नियुक्त गरेका केही धनाढ्यलाई भने सरकारी सेवामा काम गर्न तुलनात्मक रूपले सजिलो हुने देखिन्छ।

उदाहरणका लागि, विदेशमन्त्रीमा प्रस्तावित रेक्स टिलरसन एक्जन मोबिल कम्पनीका कार्यकारी प्रमुख हुन्। उनले आफ्नो कारोबारका क्रममा विभिन्न देशको सरकार तथा निजी क्षेत्रसँग नेगोसियसन गरेको अनुभव हासिल गरेका छन्।

‘टिलरसन दुई दशकदेखि नै राजनीतिमा छन्, उनको एक्जन कम्पनी नै आफैंमा एउटा देश समान हो,’ राष्ट्रपति बुसको कार्यकालमा अर्थमन्त्री हुनुअघि एक आल्मुनियम कम्पनीको नेतृत्व सम्हालेका पाउल ओनेल भन्छन्, ‘उनले विदेशी सरकारसँग वार्ता गरेका छन् र ८० हजार कर्मचारीसँग काम गरेका छन्।’

  ट्रम्प मन्त्रिपरिषदका अन्य सदस्य भने अहिलेसम्म लगानीकर्ताका रूपमा मात्र सीमित छन्। सम्पत्ति कारोबार क्षेत्रमा काम गरेका केही व्यक्ति पनि ट्रम्प सरकारमा सामेल हुँदैछन्।

सम्भवतः स्टेभेन नुन्चीनले अर्थ, बेस्टी डेभोसले शिक्षा र विलबुर रोजले वाणिज्य मन्त्रालय सम्हाल्ने छन्। उनीहरू कम्पनीको किनबेचमा संलग्न रहँदै आएका छन्।

उनीहरूको अनुभव कस्तो छ त?   विलबुर रोज नयाँ कम्पनी किन्छन्। उक्त कम्पनीको कार्यालयमा देखा पर्छन्। केही शब्द बोल्छन् र सबै काम प्रबन्धकहरूलाई सुम्पेर हिँड्छन्।

कम्पनीका सबै काम ती प्रबन्धकले नै गर्छन्। सफल भएन उनी प्रबन्धकलाई बर्खास्त गरिदिन्छन्।   तर, जब रोज वाणिज्य मन्त्रालय सम्हाल्न थाल्नेछन्, उनको कामको प्रकृति परिवर्तन हुनेछ। अब उनलाई कर्मचारीले जलवायु निरीक्षणदेखि बौद्धिक सम्पत्तिको अधिकारसम्मका फाइल सुम्पनेछन्।

त्यसमा आफ्नो राय दिनेछन्। निर्णय गर्नुअघि उनले सबैसँग सल्लाह गर्नुपर्नेछ, सबैको चित्त बुझाउनुपर्नेछ। असफल भए पनि कसैलाई बर्खास्त गर्ने सुविधा उनलाई हुने छैन।   यतिमात्र होइन, राज्य सञ्चालनको मियो बनेर बसेका स्थायी कर्मचारीमध्ये धेरैको उद्देश्य नै कसरी नयाँ मन्त्रीलाई असफल बनाउने भन्ने हुन्छ।

ट्रम्पको चुनावी अभियानका सल्लाहकार न्युट गिनरिच पनि कर्मचारीले सहयोग गर्नेमा शंका व्यक्त गर्छन्।   ‘ती कर्मचारीमध्ये अधिकांशले हिलारी क्लिन्टनलाई मत दिएका थिए, उनीहरूलाई जागिरबाट बर्खास्त गर्न सक्ने अधिकार भएको संघीय कानुन नबनेसम्म कर्मचारीले नयाँ मन्त्रीलाई सहयोग गर्ने कुनै कारण छैन,’ उनी भन्छन्।

बिजनेस मोडलबाट सरकार चल्छ कि चल्दैन भनी जाँच्ने सबैभन्दा महत्वपूर्ण कडी त ट्रम्प आफैं हुन्। उनी आफूलाई राष्ट्रपतिका रूपमा बदल्छन् वा सिइओहरूका सिइओ बनेर रहन्छन् भन्ने आगामी दिनले बताउनेछ। र, यसैले उनको सफलता पनि निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News