राप्रपा महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट


 


काठमाडौं, फागुन ३

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी फागुन ६ गतेबाट सुरु हुने महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट गरेको छ । पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट उक्त संख्यामा प्रतिनिधि छनोट भएका हुन् ।

राजधानीको भृकुटीमण्डपमा हुने महाधिवेशनका लागि करिब तीन सय पर्यवेक्षक सहभागी हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए  । पार्टीलाई धेरै लोकतान्त्रिक बनाउनका लागि शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको थियो ।

तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि एकता महाधिवेशन हुन लागेको हो । दुबै पार्टी एकीकरण अगाडि नै मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनका लागि सहमत भइसकेका थिए ।

राजतन्त्रको बारेमा महाधिवेशनबाट निर्णय लिने भनिएपनि पार्टीको आन्तरिक बैठकमा संवैधानिक राजतन्त्र कायम गर्ने समझदारी बनिसकेको छ । सङ्घीयतालाई जनमतका आधारमा टुङ्गो लगाउनेबारेमा छलफल भइरहेको छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको संयोजकत्वमा मूलसमारोह समिति गठन भइसकेको छ । उक्त समिति अन्तरगत विभिन्न ११ उपसमिति समेत गठन भई तोकिएको जिम्मेवारी अनुसार काम भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्