नेकपा माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र आजदेखि थवाङमा हुँदै


 


काठमाडौ, फागुन ५

नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु हुदैछ । महाधिवेशन बन्दसत्रका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधि परिवेक्षकहरु मंगलबार नै थवाङ प्रस्थान गरिसकेका छन् । उद्घाटन सत्र राजधानीमा सम्पन्न गरेको महाधिवेशनको बन्दसत्र आजबाट मात्र सुरु हुने भएपनि भौगोलिक हिसावले विकट भएकाले मंगलबार नै प्रतिनिधिहरु महाधिवेशन स्थल प्रस्थान गरेको सो पार्टीले जनाएको छ ।

थवाङमा चार दिनसम्म चल्ने महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी हुने पार्टी प्रजक्ता खड्ग बहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिए । बन्दसत्रमा पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तुत गर्नुहुने दस्तवेजमाथि छलफल हुने जनाइएको छ ।

जनयुद्धको उद्गम थालोका रुपमा परिचित थवाङमा हुन लागेको महाधिवेशनबाट पार्टीको भावी कार्यदिशा तथा रणनितिका बारेमा महत्वपूर्ण निर्णयहरु हुने प्रवत्ता प्रकाण्डले बताए । अन्य सांगठनिक विषयमा भने महाधिवेशनमा कुनै छलफल नहुने बताइएको छ । यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामन्चमा भएको थियो । २२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशैभरबाट हजारौंको सहभगिता रहेको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्