नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा
काठमाडौँ, माघ ६ । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्।
आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ।
शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो।
नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।
नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपाली महिला टिमले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो।
त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएको थियो।
यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन।
प्रकाशित मिति: ६ माघ २०८१, आइतबार
















