बाग्लुङमा अलैँची खेतीबाट एकै वर्षमा ६ करोड बराबरको आम्दानी
बाग्लुङ, माघ १७ । बाग्लुङमा अलैँची उत्पादन बढेको छ । गएको वर्ष बाग्लुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड रुपैयाँ भित्र्याउन सफल भएका छन् ।
राम्रो मूल्य पाउने आशामा हरेक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नम्बर २ का किसान बलिभद्र सापकोटाले बताउनुभयो । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । बाग्लुङका १० पालिकामध्ये आठ पालिकालाई समेटेर ‘अलैँचीजोन’ बनाइएको छ ।
चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन शुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बाग्लुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
अलैँची खेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ ।
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार












