पूर्वाधारमन्त्री लम्सालको आश्वासन: निर्धक्क हुनुहोला, ठूला आयोजनाका लागि बजेट अभाव हुँदैन



काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले ठुला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था व्यवस्था गरिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

उनले भने- ‘ठूल्ठूला योजनाहरूलाई पनि थोरै थोरै बजेट भन्ने गुनासो छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोविलाईजेशन हुन्छ । एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुने भएकाले जति पैसा लाग्छ, त्यो योजनालाई त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट किताबमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नु भएको हो । त्यसमा कमै पैसा देखिए पनि त्यो निर्माण सम्पन्न हुनका लागि जति पैसा चाहिने हो, त्यो पैसा छ। त्यसमा निर्धक्क हुनुहोला ।’

उनले वहुवर्षीय आयोजनाहरूका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरुलाई आश्वासन दिएका छन् ।

मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरूको लागि बजेटको अभाव नहुने बताए।

साथै चालू आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ रहे पनि करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्