‘जनताको स्वास्थ्य प्रदेश सरकारको पहिलो प्राथमिकतामा छ’


 



मोरङ, २२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको स्वास्थ्य सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

आज यहाँ कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु गर्दै उहाँले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले खोप अभियानका क्रममा लक्षित वर्गका कोही पनि नछुट्ने गरी काम गर्न आग्रह गर्नुभयो । “प्रदेशवासीको स्वास्थ्य नै सरकारको पहिलो प्राथमिकता हो । सरकारले सबै खाले खोपहरूलाई नियमित बनाउने छ । सबैलाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले खोप अभियानमा कुनै पनि लक्षित उमेर समूहका किशोरी छुट्न नहुनेमा सबै सचेत हुनुपर्ने बताउनुभयो । अभियानअन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका ५० हजार पाँच सय ९७ छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाइने उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा यो खोप अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्