निर्यात रोकिएपछि आजदेखि बन्द भए चिया उद्योग



काठमाडौं । नेपाली चियाको प्रमुख निर्यात बजार भारतमा देखिएको अवरोधका कारण चिया उद्योग गम्भीर संकटमा परेको छ।

उत्पादनको मुख्य सिजनमै चिया बिक्री हुन नसकेपछि आजदेखि इलामका ५३ चिया उद्योगहरू बन्द भएका छन् ।

भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि चिया उद्योग बन्द हुँदा हजारौं किसान प्रत्यक्ष प्रभावित भएका हुन्।

नेपाल चिया उत्पादक संघका अनुसार भारतीय पक्षले नयाँ गुणस्तर परीक्षण सम्बन्धी व्यवस्था लागू गरेपछि नेपालबाट निर्यात भएको चिया बिक्रीमा अवरोध सिर्जना भएको हो। नेपाली भन्सार पार गरेर भारतको कोलकाता पुगिसकेको २ लाख किलोभन्दा बढी चिया अहिले गोदाममै थन्किएको छ। यसका कारण उद्योगीहरूले अतिरिक्त भाडा तथा अन्य आर्थिक भार व्यहोर्नुपरेको छ।

यता नेपालभित्रका उद्योगहरूमा समेत १० लाख किलोभन्दा बढी तयारी चिया भण्डारण भएर बसेको बताइएको छ। भण्डारण क्षमता सीमित हुँदै जाँदा नयाँ उत्पादन राख्नसमेत समस्या भएको उद्योगीहरूको भनाइ छ।

कारखानामा चिया प्रशोधन भइरहेको भए पनि निर्यात रोकिँदा भण्डारहरू भरिएका छन्। उत्पादन रोक्न नसक्ने र बिक्री गर्न नपाउने अवस्थाले उद्योगहरू आर्थिक रूपमा धराशायी हुने जोखिम बढेको छ।

भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ ९एसओपी० अनुसार अब चियाको गुणस्तर परीक्षण सरकारी प्रयोगशालाबाट अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसको रिपोर्ट आउन १५ देखि २० दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरू पछि हटेका छन् ।

यसअघि निजी प्रयोगशालाबाट पनि परीक्षण गर्न पाइन्थ्यो। नयाँ व्यवस्थाले प्रक्रिया झन्झटिलो बनेको र निर्यातमा ढिलाइ भएको उद्योगीहरूको आरोप छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ। त्यसमध्ये करिब ९० प्रतिशत चिया भारतीय बजारमा जाने भएकाले भारतमा देखिएको अवरोधले नेपाली चिया क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ ।

पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुने तयारीमा छन् ।

समस्या समाधानका लागि उद्योगीहरूले यसअघि नै नेपाल सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरिसकेका छन्। तर हालसम्म प्रभावकारी समाधान ननिस्कँदा चिया उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको हो।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्