‘नो केबलकार समूह’द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ११ संस्था र १० वटा पार्टीको साथ
काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । सरकारी पक्षसँगको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि उनीहरुले निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा गरेका हुन् ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । जसअनुसार माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्नेलगायत छन् ।
पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए । काठमाडौँमा उनीहरूको उपचार भइरहेको छ ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहड्ताल गरेको थियो । जनजीवन प्रभावित भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो । सरकार पक्ष वार्तामा इमानदार नभएको उनीहरूको दाबी छ ।


प्रकाशित मिति: २८ माघ २०८१, सोमबार
















