विरोधीहरुसँग चुनावमै भेटौंला- ओली


 


काठमाडौं, फागुन १८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विरोध गर्नेहरुसँग चुनावमै भेट गर्ने बताएका छन्। काठमाडौंमा एमाले प्रचार विभागले पत्रकारहरुसँग राखेको छलफलमा उनले आफूहरुको विरोध गर्नेहरुसँग चुनावमै भेट गर्ने बताएका छन्।

एमाले तराई मधेस विरोधी पार्टी नभएको जिकिर गर्दै उनले आफ्नो सरकारले तराईमा धेरै बजेट विनियोजन गरेको दावी गरे। एमालेले फागुन २१ गतेदेखि तराईमा सुरु गर्न लागेका अभियान अलोकतान्त्रिक शक्तिबारे जनतालाई जानकारी दिने उद्देश्यले गरिएको बताए।

उनले आफ्नो अभियानलाई नेपालको राष्ट्रिय अभियान दावी गरे। ‘यो नेपालको राष्ट्रिय अभियान हो’ उनले भने ‘राष्ट्रियताको र झुटका विरूद्ध हो।’ हालै गृह मन्त्री विमलेन्द्र निधिले नेकपा एमालेको अभियानको आलोचना गरेकोमा विरोध गर्दै ओलीले अभियानमा कुनै अप्रिय घटना भएमा गृह मन्त्रीले जिम्मा लिनुपर्ने दावी गरे।

उनले आफ्नो अभियानको विरोध गरेमा प्रतिकार हुने चेतावनी दिए। चुनावको विषयमा सत्तारुढ दलभित्रै समस्या रहेको भन्दै उनले त्यहीँभित्र कोही चुनाव गर्ने र कोही चुनाव हुन नदिने रहेको बताए।

तराईका केही व्यक्तिले कमजोरलाई थिचोमिचोमा राखेको भन्दै ओलीले मधेसमा भएको थिचोमिचो विरुद्ध आफूहरुले अभियान गरेको बताए। एमाले अध्यक्ष ओलीले दुई नम्बर प्रदेशमा मधेसका जिल्लामात्र राखिनु गल्ती भएको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने बताए। उनले संशोधन विधेयक संसदमा टेबुल भएपनि पारित नहुने जिकिर गरे।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्