अमेरिकाद्वारा फुटबल खेलाडीलाई भिसा दिन अस्वीकार


 


काठमाण्डौ, फागुन १९

नेपाली पासपोर्टधारी ४ खेलाडीसहित १६ तिब्बती महिला फुटबल खेलाडीलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकाको डलासमा आयोजना हुन लागेको फुटबल प्रतियोगिताका लागि यी खेलाडीले भारतको नयाँ दिल्लीस्थित अमेरिकी दूतावासबाट भिसा आवेदन दिएका थिए।

तर, उनीहरूसँग आवश्यक कागजपत्र नभएको भन्दै दिल्लीस्थित दूतावासले भिसा दिन अस्विकार गरेको हो। तिब्बत महिला फुटबल टिमकी प्रशिक्षक तथा कार्यकारी निर्देशक केसी चिल्डर्सले भारतीय अखबारलाई दिएको जानकारी अनुसार दूतावासका अधिकारीले भिसा आवेदनका लागि उपलब्ध गराइएको कागजपत्रलाई राम्रोसँग अध्ययन नगरेको आरोप लगाएकी छिन्।

भारतीय टेलिभिजन जी न्युजका अनुसार १६ खेलाडीमध्ये दुई जनालाई छोडेर अन्य सबै खेलाडीसँग भारतीय प्रमाणपत्र छ, जुन भारत सरकारले तिब्बती शरणार्थीका लागि जारी गर्दै आइरहेको छ। यो प्रमाणपत्रले भारतीय नागरिकको रुपमा प्रतिनिधित्व नगरेपनि तिब्बती शरणार्थीका लागि विगतमा पासपोर्टको काम गर्दै आइरहेको थियो।

मुख्य प्रशिक्षकसहित दुई जनासँग भारतको पासपोर्ट छ भने अन्य चार जनासँग नेपाली पासपोर्ट रहेको जी न्युजले बताएको छ। प्रतियोगिता ९ देखि १६ अप्रिलमा हुँदैछ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्