बार्सिलोना ६–१ ले विजयी


 


काठमाण्डौ, फागुन १९

तीन जनै स्टार स्ट्राइकर ‘एमएसएन’ लिओनल मेसी, लुइस सुआरेज र नेइमारले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत बिहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेको छ।

घरेलु मैदान क्याम्प नोउमा ५० हजारभन्दा बढि दर्शकमाझ मेसीले ९ मिनेटमा हेटिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। बार्सिलोनाले पहिलो हाफमा रोड्रिगेजको ११ मिनेटमा आत्मघाती गोल र सुआरेजले २७ मिनेटमा गरेको गोलका कारण पहिलो हाफमा ३–१ को अग्रता बनाइसकेको थियो।

स्पेनिस ला लिगाको ‘रेलिगेसन जोन’मा रहेको गिजोनका लागि क्यास्ट्रोले २१ मिनेटमा एक गोल फर्काएका थिए। च्याम्पियन्स लिगअन्तर्गत आउँदो बुधबार घरेलु मैदानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी(पिएसजी) लाई आतिथ्य गर्न लागेको बार्सिलोनाका लागि आजको खेल राम्रो अभ्यास बन्यो।

बार्सिलोनालाई च्याम्पियन्स लिगमा बनिरहन पिएसजीले पहिलो लेगमा हानेको ४–० गोलको राम्रो जवाफ फर्काउनु पर्नेछ।  दोस्रो हाफमा बार्सिलोनाका लागि पाको अल्कासेरले ४९, नेइमारले ६५ मिनेट र इभान राकाटिकले ८७ मिनेटमा गोल गरेका थिए।

गिजोनविरूद्धको फराकिलो जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा फेरि एक पल्ट उक्लिएको छ। बार्सिलोनाले २५ खेलमा ५७ अंक बटुल्दै आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिडभन्दा २ अंकको अग्रता बनाएको छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको म्याड्रिडको ५५ अंक छ र ४ घण्टाको बीचमा यो साता लिगको शीर्षस्थानमा कुन क्लब अडिने, यसको टुँगो लाग्नेछ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्