दुई वर्षपछि खाना पकाउन एलपी ग्यास चाहिँदैन-ऊर्जा मन्त्री


 


काठमाण्डौ, फागुन १९

दुई वर्षभित्रमा खाना पकाउने एलपी ग्यासलाई प्रतिस्थापन गरिने भएको छ। विद्युतको उत्पादन वुद्धि भएसँगै नागरिकले खाना पकाउन विद्युतको उपभोग बढाउने हुँदा ग्यासको प्रयोग बन्द हुने ऊर्जा मन्त्री जनार्दन शर्माले बताए। उपलब्ध विद्युतको व्यवस्थापनबाट सो स्थिति निर्माण हुने उनको भनाइ थियो।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ऊर्जा मन्त्री शर्माले विद्युत् खपतसम्बन्धी सरकारको योजनाबारे गरिएको प्रश्नको सम्बोधनका क्रममा सो कुरा बताएका हुन्। सरकारले पछिल्ला दिनमा नेपालमा उत्पादन हुने विद्युत्को खपत देशमै हुने बताउँदै आएको छ।

‘विद्युत् उत्पादन गर्ने मात्रै भनेर कहाँ बेच्ने भन्ने प्रश्नलाई अब सुल्टाउनुपर्छ’, मन्त्री शर्माले भने, उत्पादित विद्युत् कहाँ खपत गर्ने भन्ने प्रश्न आउनुपर्छ र त्यहीअनुसार योजना बनाएर अघि बढ्नुपर्छ।’ प्रत्येक गाउँपालिकालाई निश्चित मेगावाट विद्युत् दिने तथा विद्युत् उपलब्धताको सुनिश्चितता हुनसके ठुल्ठूला उद्योगधन्दा खुल्ने हुनाले विद्युत्को बजार सम्बन्धमा चिन्तित हुनु नपर्ने मन्त्री शर्माको भनाइ छ।

‘भारत, बंगलादेश ऊर्जा सम्मेलनमा जाँदा भएका कुराकानीले बाहिरी बजारको पनि सम्भाव्यता देखाएको छ।’ उनले भने, ‘पहिले उत्पादन त गरौं त्यसपछि यो यस्तो वस्तु हो जसको उपभोग भएरै छाड्छ।’ देश विकासको आधार ऊर्जामा लगानी गर्नुपर्छ भन्ने चेतना जनतामा जगाउन आफूले ‘नेपालको पानी जनताको लगानी’ नारा अघि सारेको शर्माले बताए।

‘स्रोतका धनी नेपाली गरिब भइरहनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ।’ उनले भने, ‘त्यसका लागि जलविद्युत् आयोजनाको इक्विटीमै जनताको लगानी गर्नुपर्ने सोचाइ अघि सारिएको छ।’

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्