मेची-महाकाली अभियानका लागि एमाले शीर्ष नेताहरु मधेस झर्दै


 


काठमाण्डौ, फागुन १९

नेकपा एमालेले शनिबारदेखि सुरु गर्ने मेची-महाकाली अभियानका लागि एमाले शीर्ष नेताहरु मधेस झर्दैछन् । अभियान सुरुवातका लागि अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु शुक्रबार नै काकडभिट्टा जाने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

फागुन २१ गतेको कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु काँकडभिट्टा जानेछन्।

त्यसपछि उनीहरु पनि अभियानमा कार्यकर्ताहरुसँगै सहभागी हुनेछन्।   ‘अहिले हामी एमालेका सबै पंक्ति अभियानमा केन्द्रित भएका छौं’ सचिव ज्ञवालीले भने, ‘अभियानको शुभारम्भ फागुन २१ गते पूर्वको काँकडभिट्टामा हुनेछ। त्यसै दिन झापाको बिर्तामोडमा पनि जनसभा आयोजना हुनेछन्।

अभियानका लागि शुक्रबार पार्टीका सबै शीर्थ नेतृत्वदेखि केन्द्रीय नेतृत्वहरु त्यहाँ पुगिसक्नुहुनेछ।’ एमाले शीर्ष नेताहरुले पनि अभियानमा पुरै सहभागी हुने योजना बनाएका छन्।

फागुन २१ गते झापाको काकडभिट्टाबाट सुरु भइ चैत ५ गते सुर्खेतमा समापन हुने अभियानका सबै कार्यक्रममा उनीहरु कार्यकर्ताहरुसँगै सहभागी हुनेछन्। ‘अभियानभर सबै शीर्ष नेताहरु सँगै हिड्ने कार्यक्रम तय भएको छ। त्यसका लागि सबै शीर्ष नेताहरु शुक्रबारसम्म तराई झरिसक्नुहुन्छ’ एमाले सचिव ज्ञवालीले भने।

अभियानभरि नेता र कार्यकर्ताका लागि सामूहिक आवासको व्यवस्था गरिएको छ। एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र सम्पूर्ण खर्च सम्बन्धित जिल्लाले नै व्यवस्थापन गर्ने जानकारी दिए।  ‘

अभियानका क्रममा साना–ठूला गरी ३३ स्थानमा आमसभा, प्रतिजिल्ला २० देखि ५० हजार गरी कुल ५० लाख मानिसको सहभागिता हुने एमाले दाबी छ।

अभियानका लागि केन्द्रीय स्तर र हरेक कार्यक्रम हुने स्थान गरि १० हजार बढी स्वयंसेवक, छुट्टै सांस्कृतिक टोली खटाइएको छ। स्वास्थ्यले साथ दिए ओली पनि १५ दिन मधेसमै एमाले अध्यक्ष केपी ओली पनि सम्भव भएसम्म अभियानका सबै कार्यक्रममा सहभागी हुने योजनामा छन्। तर उनी आफूलाई स्वास्थ्यले साथ दिँदैन कि भन्ने चिन्तामा छन्।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्