अमेरिकाको असफल भ्रमणपछि बेलायत पुगे जेलेन्सकी, ऋण सम्झौतामा हस्ताक्षर
एजेन्सी । अमेरिकाको असफल भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गर्दै ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहो¥याएका थिए । यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको थियो।
बैठकमा दुई नेताहरूले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, अन्तर्राष्ट्रिय सहयोग र बलियो सुरक्षा ग्यारेन्टीसहितको न्यायपूर्ण शान्ति प्राप्त गर्ने प्रयासहरूबारे छलफल गरेको बिबिसीले उल्लेख गरेको छ ।
भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे– ‘प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।’
बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झुता अनुआर बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ । हाल बेलायतले युक्रेनलाई बार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ ।
जेलेन्स्कीले बेलायत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘युद्धको सुरुवातदेखि नै बेलायतका जनता र सरकारलाई सहयोग गरेकोमा म धन्यवाद दिन्छु ।’ सुरक्षित भविष्यको लागि उही दृष्टिकोण साझा गर्न पाउँदा हामी खुसी छौं ।
जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए । ‘जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो,’ स्टारमरले लेखेका छन् ।
स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि सेयर गरेका छन् ।
प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार
















