एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त



काठमाडाैं । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गरिएको हाे ।

घिमिरे हालसम्म वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत थिए। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) अनुसार एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी सीईओ बनाउन नपाइने व्यवस्था भएकाले हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल समाप्त भएसँगै घिमिरेलाई नेतृत्व हस्तान्तरण गरिएको हो।

सन् २००९ देखि एनएमबी बैंकमा आबद्ध घिमिरेले १९९५ मा नेपाल बंगलादेश बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका उनले ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञता हासिल गरेका छन्। २०७९ असोज ११ देखि उनले एनएमबी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

बैंक सञ्चालक समितिले घिमिरेलाई सीईओमा नियुक्त गर्नुका साथै अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ।

उपाध्याय ९ वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन्। उनले १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करियर सुरु गरेका थिए। सन् २००९ सम्म ११ वर्ष स्टान्डर्ड चाटर्ड बैंक नेपालमा काम गरेपछि कतारको स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा मश्रेक बैंकमा करिब ६ वर्ष कार्य अनुभव हासिल गरेका थिए।

सन् २०१५ मा एनएमबी बैंकमा सिनियर म्यानेजरको रूपमा प्रवेश गरेका उपाध्याय डेपुटी जनरल म्यानेजर हुँदै नायब प्रमुख कार्यकारी अधिकृत बनेका थिए। अब वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंक सञ्चालनमा थप जिम्मेवारी सम्हाल्नेछन्।

उपाध्याय इन्टरनेशनल बैंकिङ, कर्पोरेट बैंकिङ, एसएमई, रिटेल र ट्रान्जेक्सन बैंकिङका विशेषज्ञ मानिन्छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।

एनएमबी बैंकले नयाँ नेतृत्वको नियुक्तिसँगै बैंकको रणनीतिक विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताएको छ। बैंकले डिजिटल बैंकिङ, ग्राहक सेवा सुदृढीकरण, तथा नयाँ लगानी अवसर खोज्ने रणनीति अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्