बार्सिलोना फेरि ला लिगाको शीर्षस्थानमा


 


काठमाडौं, फागुन २२

लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोलले पराजित गरेको छ।पहिलो हाफको २३ मिनेटसम्म घरेलु टोलीको आक्रमणलाई निस्तेज पारेको सेल्टाले बीचको ४० मिनेटको खेलमा नियन्त्रण गुमायो। जसका कारण भ्रमणकारी टोलीले पाँच गोलको नतिजा बेहोर्नु पर्यो।
आइतबार बिहान सम्पन्न यस खेलमा लिओनल मेसी फेरि नायक साबित भए। उनले दुई गोल गर्नुको साथै गोलका लागि दुईवटा सुन्दर मौका जुराइदिएका थिए। यो नतिजासँगै केही समयका लागि आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिडसँग शीर्षस्थान गुमाएको बार्सिलोना ६० अंकका साथ पुनः अग्रस्थानमा फर्किएको छ।

रियल म्याड्रिडले शनिबार रातीको खेलमा एइबारलाई ४–१ गोलले पराजित गर्दै ५९ अंकका साथ शीर्षस्थानमा उक्लिएको थियो। म्याड्रिडले बार्सिलोनाभन्दा एक खेल अझै खेल्न बाँकी छ। बार्सिलोनालाई २४ मिनेटमा मेसीले अग्रता दिलाए। उनले मैदानको बीचबाट दौडाउदै ल्याएको बललाई डिबक्स नजिकैबाट गोलको दिशा दिएका थिए।

यसअघि लुइस सुआरेजको एउटा प्रहार सेल्टाको गोल पोस्टमा लागेर बाहिरिएको थियो। मेसीले ४० मिनेटमा नेइमारलाई दोस्रो गोलका लागि मौका मिलाइदिएका थिए। बार्सिलोनाले पहिलो हाफको खेललाई २–० मा राखेको थियो।

लगत्तै घरेलु टोलीले दोस्रो हाफको खेल सुरु भएको १९ मिनेटमा तीन गोल थप्यो। जसमा ६४ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनको ला लिगामा यो २३ गोल थियो। बार्सिलोनाका लागि ५७ मिनेटमा इभान राकिटेकले तेस्रो गोल गरे। उनको गोलमा विपक्षी टोलीले अफसाइड अपिल गरेको थियो।

बार्सिलोनाका लागि चौथो गोल सामुअल उमटिटीले गरेका थिए। उनले ६१ मिनेटमा मेसीले डिबक्स भित्र दिएको क्रस पासलाई गोलमा परिणत गरेका थिए। उमटिटीको बार्सिलोनाबाट यो पहिलो गोल थियो।

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्