अवैध २५ करोडसहित समातिएका कुसाङ सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका व्यक्ति



काठमाडौं । आज विहानै काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर छुटेका कुसान आज अवैध २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनी यसअघि ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ लैजाने क्रममा पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कसले पठाएको, कहाँ लान लागिएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाएको छ ।

प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्