इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प



काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको दाबी गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा उनीहरू थप गम्भीर बन्दै गएका छन् । हामी के हुन्छ हेर्नेछौँ ।’

उहाँले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गर्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’
यद्यपि, वार्ताबाट निश्चित समाधान निस्कनेमा भने उहाँले पूर्ण विश्वास व्यक्त गर्नुभएन ।

ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकार र अधिकारीहरूसँग इरानसँगको द्वन्द्वका विषयमा छलफल गरेलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो । सिएनएनको रिपोर्टअनुसार ट्रम्पले इरान विरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गर्नुभएको थियो । पछिल्लो समय इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । नेपथ्यमा भइरहेका यी वार्ताहरूले कूटनीतिक प्रयासलाई पुनर्जीवित गर्छन् वा अमेरिकाले सैन्य आक्रमणलाई थप तिब्र बनाउँछ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार