यो वर्ष शैक्षिक सत्र अगावै पाठ्यपुस्तक सम्बन्धित विद्यालय पुग्छ : जनक शिक्षा
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको छ र शैक्षिक सत्र अगावै पाठ्यपुस्तक विद्यालयमा पुग्नेछन् ।
केन्द्रका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ । कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ भने कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेले बताइन् ।
उनका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।
केन्द्रले शतप्रतिशत किताब छपाइ भइसकेको बताउँदै १७ चैतदेखि सबै ठाउँमा किताब पुग्ने जनाएको छ ।
पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्याउने गरी केन्द्रले तालिका बनाएको छ ।
यस्तो पुस्तक वितरण तालिका :
कोशी प्रदेश
१३ चैतदेखि २ वैशाखसम्म
मधेश प्रदेश
१७ चैतदेखि चैत मसान्तसम्म
बागमती प्रदेश
चैत १७ देखि १ वैशाखसम्म
गण्डकी प्रदेश
१३ चैतदेखि चैत मसान्तसम्म
लुम्बिनी प्रदेश
१३ चैतदेखि २८ चैतसम्म
कर्णाली प्रदेश
१२ चैतदेखि २४ चैतसम्म
सुदूरपश्चिम प्रदेश
१७ चैतदेखि चैत मसान्तसम्म
प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार
















