बार्सिलोनाले बनायो च्याम्पियन्स लिगमा इतिहास


 


काठमाण्डौ, फागुन २६

स्पेनस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनाएको छ । अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएर पनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेर बार्सिलोनाले इतिहास बनाएको हो । यसअघि च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ४–० ले पराजित भएको कुनै पनि टिम क्वाटरफाइनलमा पुग्न सकेको थिए ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ला लिगा क्लब बार्सिलोनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले हराउँदै समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।  पहिलो लेगमा बार्सिलोना पिएसजीसँग ४–० ले हारेको थियो ।

दोस्रो लेगमा बार्सिलोनालाई शानदार पुनरागमन गराउने क्रममा नेइमारले दुई तथा लियोनल मेस्सी, लुइस स्वारेज र सर्गी रोबर्टोले गोल गरे । पिएसजीका लेविन कुर्जावाले आत्मघाती गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरे । तेस्रो मिनेटमा स्वारेजले गरेको गोल तथा ४० औं मिनेटमा कुर्जावाले गरेको आत्मघाती गोल पछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो ।

५० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले गोल गरे । ६२ औं मिनेटमा काभानीले पिएसजीका लागि एक गोल फर्काए । खेलको अन्तिम समय पिएसजीका लागि निकै घातक बन्यो । ८८ औं मिनेटमा व्यक्तिलगत पहिलो गोल गरेका नेइमारले इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ मा पुर्‍याए ।

त्यसपछि इन्जुरी समयको अन्त्यमा सर्गीले गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो र समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा पुग्यो । अवे मैदानमा भोगेको खराब हारको बदला बार्सिलोनाले घरेलु मैदानमा शानदार जितसहित लियो ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्