आन्दोलनरत शिक्षकलाई काउन्टर : सीडीओले कक्षा १२ को परीक्षा गराउने, निजामती कर्मचारी खटाइने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा गर्ने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीमा मंगलबार बसेको बोर्ड बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलन र उसले कक्षा–१२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेको थियो । त्यसपछि विद्यार्थी र अभिभावकमा परीक्षा निर्धारित समयमा सञ्चालन हुनेरनहुनेबारे अन्योल थियो ।

परीक्षा निर्धारित समयमै र शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको तयारीमा असर पर्ने र उनीहरूको समय खेर जाने हुन्छ । त्यसैले परीक्षा नरोक्ने र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका ठाउँमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर परीक्षा सञ्चालन गरिने भएको छ ।

यो वर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् ।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्