शिक्षक नेतालाई शंकर पोखरेलले भने – अब हठ त्यागेर विद्यालय फर्किने वातावरण बनाऔं



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशसँगै अब हठ त्यागेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै पोखरेलले सो आग्रह गरेका हुन् ।

उनले अदालतले बालबालिकाको भविष्यबारे गम्भीर चिन्ता गर्दै आदेश दिएको उल्लेख गर्दै अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्ने बताए ।

‘कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि मात्र हो भनेर तर्क गरिरहनुभएको छ। हो, आदेश त सरकारलाई हो तर चिन्ता विद्यालय बन्द भएको कुराप्रति हो,’ उनले लेखेका छन्, ‘अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौं ।’

पोखरेलले सरकार र राजनीतिक दलहरूले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट ल्याउने तयारी गरिरहेका बेला शिक्षक नेताहरूले जिद्दी गर्दै आन्दोलनलाई निरन्तरता दिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्