राजधानीमा फेरि इन्धन अभाव


 


काठमाडौं, फागुन २७

काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए । प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए ।

‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भने, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ ।’थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो ।

प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो । ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उनले भने ।

अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उनले बताए । उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो । सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन् ।

निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ । पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो । उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन् । यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन् ।

निगमले आज (शुक्रबार) उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिँदै भने, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ ।

’ उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताए । उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उनले आग्रह गरेका छन् ।  यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौँ  ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्