दर्जनभन्दा बढी शिक्षक घाइते भएपछि महासंघको आकस्मिक बैठक : सरकारले घुसपेठ गरेको आरोप



काठमाडौं । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।

आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको महासंघले जनाएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ ।

बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए ।

बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो ।

प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।

यसैबीच महासंघले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए ।

शान्त आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपना देखाएको आरोप लगाए ।

शिक्षकको शान्तिपुर्ण आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएको छ ।

‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्।’

भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघले जनाएको छ । अध्यक्ष सुवेदी भने–भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन्। अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ ।’

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्