कर बढ्ने सूचना चुहिएपछि इभीले भरियो चोभारको सुख्खा बन्दरगाह, सबैभन्दा बढी बीवाईडी



काठमाडौं । इभी सवारी साधनमा भन्सार महसुल बढ्ने संकेत पाएपछि व्यवसायीहरुले धमाधम नयाँ गाडी आयात गरेर चोभारको सुख्खा बन्दरगाह भरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउनु अगाडि नै व्यवसायीहरुले गाडी आयात गरेका हुन् । जसले गर्दा भन्सारमा नयाँ गाडी थुप्रिएका छन् ।

अहिले चोभारको सुख्खा बन्दरगाह नयाँ गाडीले भरिएको छ । जबकि चैतसम्म यस बन्दरगाहको गाडी राख्ने ठाउँ आधा पनि भरिएको थिएन । पछिल्लो एक महिनायता सवारीसाधनको आयात बढ्दा अहिले बन्दरगाहमा थप गाडी राख्ने ठाउँ छैन ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अहिले चोभार सुख्खा बन्दरगाहमा एक हजार हाराहारीमा सवारीसाधन छन् । यहाँ सबैभन्दा बढी विद्युतीय सवारीसाधन रहेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विशेषगरी विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएपछि गाडी आयातकर्ताहरू कर बढ्ने आशंकामा बजेट अगाडि नै नयाँ गाडी धमाधम आयात गरिरहेका छन् ।

अहिले चोभार सुख्खा बन्दरगाहमा भएका अधिकांश गाडीहरू तातोपानी नाका र रसुवागढी नाकाबाट जाँचपाँस भएर आएका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रतिगाडी दैनिक १०० रुपैयाँका दरले भाडामा पार्किङ सुविधा उपलब्ध गराउँदै आएको छ । व्यवसायीले रसुवा र तातोपानी नाकाबाट भन्सार जाँचपाँस गरेर सुख्खा बन्दरगाहमा पार्किङ गरेका हुन् ।

यसरी चोभारको सुख्खा बन्दरगाहमा राखिएका गाडीमध्ये सबैभन्दा बढी बीवाईडीका गाडी छन् । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका सयौं गाडी आयात गरेर चोभारको भन्सारमा राखेको पाइएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्