भागेर भारत पुगेकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध मानवता विरोधी अपराधको मुद्दा



काठमाडौं । विद्यार्थीहरुले गरेको विद्रोहमा हिंसात्मक दमन गरेको भन्दै बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ।

गत वर्षको विद्यार्थी विद्रोहका बेला हिंसात्मक दमन गरेको भन्दै हसिना र दुई वरिष्ठ अधिकारीलाई सरकारी वकिलले आइतबार औपचारिक रूपमा मानवता विरूद्धको अपराधको अभियोग लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले लेखेको छ।

एउटा अनुसन्धान प्रतिवेदनले हसिनाले सुरक्षा निकायरू, उनको राजनीतिक दल अवामी लिग र सम्बद्ध समूहहरूलाई ठूलो संख्यामा हताहत हुने गरी दमन गर्न प्रत्यक्ष रूपमा आदेश दिएको पत्ता लगायो भनेर सरकारी वकिलहरूले दावी गरेका छन्।

सो समयमा सरकार प्रमुखको रूपमा हसिनाको सुरक्षा बलको कारबाहीको लागि ‘कमान्ड रेस्पोन्सिबिलिटी’ (आफू मातहतकाले गरेको अपराधको जिम्मेवारी) ठहरिने पनि सरकारी वकिलहरूले जिकिर गरे। सो मामिलामा ८१ जनालाई साक्षीको रूपमा सूचीकृत गरिएको बताइएको छ ।

गत वर्ष विद्यार्थीको नेतृत्वमा जनताले हप्तौंसम्म सडकमा उत्रिएर उनी विरूद्ध विद्रोह गरेपछि अगस्टको पहिलो हप्तामा उनी भागेर भारतको नयाँ दिल्ली पुगेको थिइन्।

बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना भारत भागेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकार चलाइरहेका छन्।

केही हप्ता अघि आतंकवाद विरूद्धको कानुन अनुसार बंगलादेश सरकारले हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध लगाएको थियो।

निरंकुश शासन चलाउने क्रममा हसिनाले गरेको अपराध र भ्रष्टाचारका कारण उनलाई बंगलादेश फिर्ता पठाउन युनुस सरकारले भारतलाई आग्रह गरिरहेको छ। तर भारतले भने उनलाई फिर्ता नपठाइ शरण दिएर राखेको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्